बागलुङ । सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ । कुश्मा नगरपालिका– ६ स्थित बान्द्रेविडी चौरमा २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकोमा निर्माण कार्य सकिएको हो ।
सात करोड १५ लाख ३० हजार लागतमा निर्माण भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको उक्त बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले बसपार्क निर्माण सम्पन्न भएपनि स्वामित्व हस्तान्तरणमा ढिलाइ भएकाले सञ्चालनमा आउन नसकेको बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण कार्यालयले स्थानीय कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्न समय लागेकाले सञ्चालनमा आउन ढिलाइ भएको उहाँको भनाई थियो । बसपार्क टर्मिनल भवन, यात्रीकक्ष र पसलका लागि सटर निर्माण, रङरोगन लगायत सम्झौता अनुसारको काम सकिएको उहाँले जानकारी दिनुभयो ।
बसपार्कमा साना र ठूला सवारीलाई छुट्टाछुट्टै पार्किङको व्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरको व्यवस्था गरिएको जनाइएको छ । एघार महिना निर्माण अवधि रहे पनि नौ महिना ढिला गरी बसपार्क सम्पन्न भएको थियो ।
समयमै पर्याप्त बजेट निकासा नहुँदा पनि केही ढिलाइ भएको सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले जनाएको छ ।
कार्यालय प्रमुख सुनिता श्रेष्ठकले नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया लम्बिएका कारण सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । उहाँले अब केही समयमै हस्तान्तरण प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।