बागलुङ, प्रभाव भएको मन्त्रालय दिएको र वरियता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्री पदबाट राजीनामा दिएका छन । आफुले राजीनामा दिए पनि मुख्यमन्त्रीको सचिवालयले भने राजीनामा पत्र बुझ्न नमानेको उनले बताए ।
मुख्यमन्त्रीको सचिवालयले नबुझे पनि आफुले मन्त्री पदबाट राजीनामा दिएको मनाङेले बताए । ‘मलाई जिम्मा दिइएको वन तथा वातावरण मन्त्रालय जाँदिन’, ढोरपाटनसंग उनले भने । एमालेको ‘इन्ट्री’ संगै गण्डकी प्रदेश सरकारमा गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदबाट मन्त्री बनेका मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन ।
प्रदेशकै महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका गुरुङलाई टुक्राइएको वन तथा वातावरण मन्त्रालयमा पठाइएपछि उनी असन्तुष्ट बनेका हुन । भौतिक मन्त्रालय भने एमालेका प्रकाशबहादुर केसीलाई दिइएको छ ।
मनाङेले आफुभन्दा जुनियरका लागि मन्त्रालय छाड्ने बताएका छन । यसअघि तेस्रो बरियतामा रहेका उनलाई अहिले छैठौंमा पुराइएको छ । एमालेका ४ मन्त्रीको सपथ सकिए लगत्तै उनी रिसाउँदै निस्किएर राजीनामा दिएका हुन । मनाङेलाई वन तथा वातावरण मन्त्री बनाइएपछि पदभार नै ग्रहण गर्न गएनन् ।
वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी राजेश पौडेलले आफुहरु मन्त्रीको स्वागतमा बसे पनि नआएको बताए । गण्डकीमा ४ जना एमालेका मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । दुखमा साथ दिएको भन्दै एमालेको माग विपरीत मुख्यमन्त्री पाण्डेले मनाङेलाई सरकारबाट हटाएका थिएनन । तर मनाङे आफै हटे ।