बागलुङ । नियम विपरीत उत्खनन गरी नदीजन्य पदार्थ संकलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ ।
बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाट लगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुंगा संकलन गर्नेलाई कारबाही गर्न थालेको छ ।
नगरपालिकाले जरिवाना स्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट १६ लाख २२ हजार राजस्व संकलन गरेको छ ।
असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्यांकन गरी नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिएको बताए ।
जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा संकलन गरिएको बालुवा तथा ढुंगाको दण्ड तथा जरिवाना संकलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।’
बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार १३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ।
आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकर वापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि कर वापत एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवाना वापत १२ लाख ५५ हजार ८०६ गरी १४ लाख ३४ हजार २७४ र विष्णु चोखाल मार्फत एक लाख ८७ हजार ९४४ रुपैयाँ जरिवाना तिरेको छ ।
जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुंगा संकलनकर्तालाई जरिवाना तिराउन मूल्यांकन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।