images
images

बागलुङमा डेंगी संक्रमित बढे, जिल्लाभर खोर र नष्ट गर अभियान

बागलुङ। दुई साता अघिसम्म बागलुङमा शुन्य रहेको डेंगी र स्क्रबटाइफसको संक्रमण तिव्र रुपमा फैलिएको छ ।

हालसम्म जिल्लामा ६४ जना डेंगीका संक्रमित भेटिएका छन् । यस्तै ६४ जना नै स्क्रबटाइफस संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित गलकोटमा देखिएका छन् । बजार क्षेत्रमा फालिने टायर र खाली भाडामा पानी जमेर लामखुट्टेको लार्भा उत्पादन भएको पाइएको शर्माले बताउनुभयो ।

धौलागिरि अस्पतालमा मात्रै १२ जना गम्भिर बिरामी भर्ना भैसकेको जानकारी दिदै शर्माले अन्य स्वास्थ्य संस्थामा पनि धेरैले उपचार गराएको बताउनुभयो ।

डेंगी भएका बिरामीलाई अत्याधिक ज्वरो आउने र औषधी खाएर पनि भित्री अंगमा रक्तश्राव हुने हाँदा सञ्चो भएजस्तो भएपछि पनि बिरामी गम्भिर बन्ने र मृत्यु समेत हुन सक्ने भएकोले नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्ने शर्माले जानकारी दिनुभयो ।

संक्रमण बढेकै कारण बागलुङ नगरपालिकाले पनि खोज र नष्ट गर भन्ने नारासहित बृहत अभियान शुरु गरेको छ । यो अभियानमा अटेर गर्ने मोटर ग्यारेज लगायतका स्थानमा प्रहरी लगाएर भएपनि सरसफाइ गर्ने योजना सहित प्रशासनले अगुवाई गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।