images
images

विद्यार्थीको स्वास्थ्यमा खेलबाड, विद्यामन्दिरको क्यान्टिमा विद्यार्थीलाई कुहिएको चाउमिन बिक्रि

बागलुङ,  विद्यामन्दिर माध्यामिक विद्यालयभित्र सञ्चालित क्यान्टिनमा विद्यार्थीहरुलाई कुहिएको चाउमिन दिने गरेको पाइएको छ । मंगलबार अनुगमन गर्दा विद्यार्थीलाई दिइएको चाउमिन कुहिएर गन्हाएको पाइएको हो ।

अनुगमनमा संलग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका शान्त कुमार मेहताले सडेको चाउमिन भेटिएको बताए ।

चाउमिन कुहिएर गन्हाएको छ, यो खानै नहुने चाउमिन छ ।’ उनले भने–‘यहाँको अन्य व्यवस्थापनपनि राम्रो छैन ।’

उनले क्यान्टिनमा हुनुपर्ने सामान्य मापदण्डपनि पुरा नगरेको बताए । क्यान्टिनमा भिजाइएको चनाको समेत गन्ध आएको, भाडाँ राखेको ठाउँमा नै जुत्तचप्पल राखिएको, खानेकुरा नढोकिएको, सरसफाइमा लापारबाही गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत दिनेश शर्माले कुहिएको चाउमिन बिक्रि गर्ने क्यान्टिन सञ्चालकलाई कार्वाही गरिने बताए ।

‘अनुगमन गर्दा न्यूनतम मापदण्डपनि पूरा गरेको पाएनौँ, विद्यार्थीलाई कुहिएको चाउमिन बेच्नु विद्यार्थीको स्वास्थ्यमाथीको खेलबाड हो ।’ उनले भने–‘क्यान्टिन सञ्चालकलाई जरिवाना गराइन्छ ।’

क्यान्टिनमा गन्हाउने चाउमिन बिक्रि गर्दै आएको कुरा विद्यार्थीहरुले पटक–पटक गुनासो गर्दै आएका थिए । कतिपय विद्यार्थीले गन्हाउने चामिन दिएपछि खाजा खानसमेत छोडेको विद्यार्थीहरु बताउँछन् ।

विद्यालयको क्यान्टिनमा अस्वस्थकर चाउमिन बेचेको बारे विद्यालय प्रशासन भने मौन रहेको छ ।

विद्यालयको क्यान्टिन प्रगतिशिल गौतम स्टोर्स एण्ड विद्यामन्दिर खाजा घरको नामबाट सञ्चालन गरिएको छ ।