रामरेखामा सार्वजनिक सुनुवाई : नगर खानेपानी प्रति प्रश्नै प्रश्न !

बागलुङ,  नगरपालिका वडा न। १ रामरेखामा शनिबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिलाई प्रश्नै प्रश्न गरिएको छ ।

बागलुङ नगरपालिकाको आयोजना र नेपालपत्रकार महासंघ बागलुङको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाईमा नागरिकले सबैभन्दा बढि प्रश्न नगर खानेपानी तथा उपभोक्ता समितिलाई गरेका थिए ।

समितिले पानीको महशुल २०० प्रतिशतले बढाएको, बक्यौता नउठाएको, समितिका व्यक्तिहरुका धारामा मिटर जडान नगरिएको, आन्तरिक कलहमा फसेको, रामरेखा लगाएका विभिन्न स्थानहरुमा प्रयाप्त पानी पुर्याउन नसकेको भन्दै चर्को आलोचना सहित प्रश्नहरु राखिएको थियो ।

कार्यक्रममा १७ जना नागरिकले समग्र नगरपालिकाको समस्या, खानेपानीका समस्या, सरसफाई, ढल निकास, सडकपेटी र सुरक्षा लगायतको विषयमा प्रश्न तथा गुनासो गरेका थिए । धुव्र प्रसाद शर्मा, निरज शाक्य, देवी प्रसाद पाठक सहित अधिकाँसले खानेपानीको समस्या र बक्यौता उठाउने विषयका सन्दर्भमा प्रश्न सहित आलोचना गरेका थिए । उनीहरुले खानेपनी धमिलो आएको बताउँदै नगरपालिकाको ध्यानाकर्षण गरेका थिए ।

अनन्त बहादुर खड्काले किसानको समस्या, युवा पलायनको समस्या र स्थानीय जातको धानको संरक्षणका विषयमा प्रश्न राखेका थिए। टेक बहादुर क्षेत्रीले कृषि ज्ञान केन्द्रको भवनमा पूर्वाधार बनाउन नमिल्ने बताएका थिए ।

सार्वजनिक सुनुवाईमा कमल खड्काले बसपार्क र बलेवा विमानस्थल कहिले चल्छ भनेर नगरप्रमुखलाई प्रश्न राखेका थिए । सार्वजनिक सुनुवाईमा जगन्नाथ कँडेल, रणसिंह बोहोरारुद्र महत, सुमन बोहोरा, नारायण प्रुाद शर्मा, शालिक सापकोटा, थानेश्वर सुवेदी, सुमित्रा शर्मा, कुन्ती सापकोटा, विष्णु खत्री, महेन्द्र आचार्य तथा कृष्ण शर्माले नगरपालिकाको सेवा प्रवाह चुस्त बनाउँदै लैजानुपर्ने, सिसि क्यामेराको संख्या बढाउनुपर्ने, ढलको निकास निकाल्नुपर्ने, प्राविधिकहरुको काम सुधार्नुपर्ने लगायतका विषयमा प्रश्न व्यक्त राखेका थिए ।

प्रश्नहरुको जवाफ दिदै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले नागरिकको गुनासो सुनेर सम्बोधन गर्नका लागि गाउँ–गाउँमा पुगेको बताउँदै गुनासोलाई सम्बोधन गर्दै नगरपालिका अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

उनले जनता, कर्मचारी र जनप्रतिनिधि मिलेर मात्रै विकास संभव भएको बताए। नगरपालिका प्रति आएको गुनासोलाई लिपिबद्द गरेर क्रमश सुधार गर्न तर्फ नगरपालिका अग्रसर भइरहेको उनको भनाई छ । नगर प्रमख श्रेष्ठले बागलुङ बजारका सडकका खाल्टाखुल्टी मर्मत गर्ने नाली सफाई गर्ने र फोहोर व्यवस्थापन छिट्टै गर्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाको ८६ प्रतिशत प्रगति भएको बताए।

उनले केही बजेट केन्द्रले नपठाउँदा एक दर्जन योजना कार्यानवयनमा नगएको बताउँदै अन्य योजना सम्पन्न भइसकेको बताए । कार्यक्रममा उठेका जिज्ञासा नगरप्रमुख सहित खानेपानीका कार्यबाहक अध्यक्ष हरि बहादुर जिसी, रामरेखाका वडा अध्यक्ष जय बहादुर केसी, शाखा प्रमुखहरुले दिएका थिए।

सार्वजनिक सुनुवाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाको सहजिकरण, पत्रकार नारायण रिजालद्वारा सन्तुष्टी सर्वेक्षण प्रतिवेदन तथा पत्रकार सुवास गौतमले आचार संहिता प्रस्तुत गरेका थिए।

पत्रकार प्रकाश बरालले कार्यक्रममाथी टिप्पणी गरेका थिए ।