images
images

मुस्ताङमा ३ हजार बढी शालिग्राम बरामद

बागलुङ । मुस्ताङमा १५ थान बोरामा रहेका ३ हजार ३ सय ७९ वटा शालिग्राम शिला मुस्ताङ प्रहरीले बरामद गरिएको छ ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उपल्लो मुस्ताङको प्रहरीचौकी घमीले शालिग्राम बरामद गरेको हो ।

प्रहरी चौकी घमीले लुकाइछिपाई व्यावसायिक प्रयोजनका लागि ग १ च ८१५२ र ध १ च ११५६ नम्बरको जीपमा राखेर जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा शालिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको शालिग्रामहरु आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमलाई बुझाइएको डीएसपी पाण्डेयले उल्लेख गर्नुभयो ।

एक्याप प्रमुख प्रमोदराज रेग्मीले अवैध रुपमा लुकाइ छिपाई लैजान लागिएको शालिग्राम कस्को हो भन्ने अझै खुल्न नसकेको जानकारी दिनुभयो ।

एक्याप जोमसोमले बरामद गरिएको शालिग्रामहरु आवश्यक कारबाहीका लागि एक्याप जोमसोमबाट एक्यापको प्रधान कार्यालय पोखरामा पठाएको छ । मुस्ताङमा यति ठूलो संख्यामा शालिग्राम बरामद भएको पहिलो घटना मानिएको छ ।