images
images

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८८ जनालाई रोजगारी

बागलुङ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगारी पाएका छन् ।

कार्यक्रममार्फत सञ्चालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरेपछि स्थानीयवासीहरुको यात्रा सहज भएको छ ।

चालु आर्थिक वर्षमा उक्त योजनाहरु सञ्चालन गर्नका लागि गाउँपालिकालाई ५६ लाख ८५ हजार रुपियाँ प्राप्त भएको थियो ।

कार्यक्रम अन्तर्गत रोजगारीका लागि फाराम भरेका सात सय २९ जनामध्ये ८८ जनाले कम्तीमा ३९ दिनदेखि बढीमा एकसय दिनसम्मको रोजगारी पाएको गाउँपालिकाको रोजगार शाखा संयोजक सुमित्रा गैरे पौडेलले जानकारी दिनुभयो ।

रोजगार कार्यक्रममार्फत दोबाटो गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार,पाती चढाउनेदेखि चिसो पानीसम्म गोरेटो तथा मर्मतसम्भार, बाँझो खर्कदेखि बाँझो ढुङ्गासम्म गोरेटो बाटो निर्माण, किम्ली बराह जाने बाटो मर्मत सम्भार, जरिवाङदेखि छेम्दीसम्म गोरेटो बाटो निर्माण र गुइठे पुलदेखि पटारसम्मको बाटो निर्माण तथा मर्मत योजना सम्पन्न भएको छ ।

यसैगरी घारखोला नेपानेदेखि पाउद्वार मोटरबाटो सोलिङ निर्माण, अन्नपूर्ण होटलदेखि फलेख घरको गेटसम्म पदमार्ग मर्मत, कोलालिबाङ गोरेटो बाटो निर्माण, थपना सडक तथा गोरेटो बाटो मर्मत सम्भार र छहरे आलडाँडा गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार योजना सम्पन्न भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो ।