बागलुङ । जलवायु परिवर्तनका कारण पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा कालिगण्डकी नदीबाट कटानको उच्च जोखिममा पर्दै आइरहेको छ। नदी उकास र नदी कटानले मुस्ताङको तटीय क्षेत्रका करिव १३ गाउँ जोखिममा परेका छन् ।
कालिगण्डकी नदी कटान न्यूनीकरण गर्ने उद्देश्यसहित मुस्ताङको सदरमुकाम जोमसोम बजारलाई जोगाउन कालिगण्डकी नदी नियन्त्रण तटबन्ध योजना अघि बढेको छ। संघीय सरकार अन्तर्गतको जलश्रोत तथा सिंचाइ विभागले तटबन्ध योजना अघि बढाएपछि अहिले धमाधम तटबन्ध निर्माणको कामले गति लिएको हो।
साकुरा ईन्ड्राईभ जेभी कन्ट्रक्सनले जनाएको कम्पनीका प्रतिनिधि प्रेमबहादुर खत्रीले संघीय आयोजनाको ठेक्का सम्झौता ढिलो भएकाले तटबन्ध निर्माणको काम ढिलो सुरु भएको बताउनुभयो। उहाँले बर्खायाम लागे पनि सम्भव भएका स्थानमा नदी डाईभर्सन गरी तटबन्धको कामलाई तीव्रता दिने जनाउनुभयो ।
जोमसोम बजारलाई कालिगण्डकी नदीको कटानबाट जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जलश्रोत तथा सिंचाइ विभागले ८ करोड लागतमा साकुरा ईन्ड्राईन जेभी कन्टक्सन काठमाडौंसँग ठेक्का सम्झौता गरेको थियो।
घरपझोङ गाउँपालिका–४ जोमसोम बजार जोगाउन जोमसोम पक्की पुल तलदेखि जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको आर्मी क्याम्प जोड्ने झोलुङे पुलसम्मको दुरीको दुई ठाउँमा कालिगण्डकी छेक्न ८ करोड लागतमा ठेक्का सम्झौता भइ अहिले काम अघि बढेको निर्माण कम्पनीका इन्जिनीयर कृष्णदेव शाहले जानकारी दिनुभयो ।

धौलागिरी टेलिभिजन 










