
बागलुङ । बागलुङको यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।
कार्यालयको सेवालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न कार्यालयले अनलाइन सेवा सुरु गरेपछि सहज भएको हो । अनलाइन सेवा सुरु भएपछि सवारीसाधन दर्ता प्रमाणपत्र, (ब्लूबुक) नवीकरणका लागि घण्टौँ सम्म लाम बस्नुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।
कार्यालयले पुराना फाइल र ढड्डालाई सफ्टवेयरमा प्रविष्ट गर्ने काम पनि थालेको कार्यालय प्रमुख गुमादेवी शर्माले बताउनुभयो । दर्ता र नामसरीको काम गत फागुनदेखिनै अनलाइन मार्फत गरेको उहाँको भनाई थियो ।
अनलाइन सेवा सुरु भएपछि दर्ता, नवीकरणको काम पहिलेभन्दा छिटोछरितो भएको छ । राजश्व तिर्ने समय पनि एक घण्टा थप गरेर सेवा प्रवाहलाई सहज बनाएको छ । अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई मोटरसाइकल नामसरी र नवीकरणको काममा सहज भएको हो ।
कार्यालयमा रहेका सवारीसाधनका सबै ढड्डा र फाइललाई विद्युतीय अभिलेखीकरण गर्न सुरु गरिएको शर्माले बताउनुभयो । सवारीसाधन दर्ता र नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउन थालिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलेबाट प्राप्त भएको दश लाख रुपियाँ बजेटबाट जनशक्ति व्यवस्थापन गरेर कार्यालले पुराना फाइलहरुलाई विद्युतीय अभिलेखमा लैजान थालेको उहाँको भनाई छ ।
एकवर्ष भित्रमा कार्यालयमा दर्ता भएका करिब २५ देखि ३० हजार सवारीसाधन दर्तालाई ढड्डामुक्त बनाइने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।