बागलुङ । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित माझफाँटमा सडक कालोपत्र गर्ने तयारी गरिएको छ । मल्लाज माझफाँटको वस्तीमा सडक निर्माण गरी एकिकृत वस्ती विकास गर्ने योजना अनुसार सडक स्तरोन्नति सहित कालोपत्र गर्न लागिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकिकृत वस्ती विकास कार्यक्रम कार्यन्वयनका लागि ठेक्का मार्फत जलजलाको २, ३ र ४ नम्बर वडाका वस्तीहरु समेटेर ४ दशमलब ८ किलोमिटर दूरीको सडक स्तरोन्नति सहित कालोपत्र योजना दुईवर्ष अघि सञ्चालन गरेको थियो ।
कार्यालयले २०७९ असार १९ गते दुई वर्ष भित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएम निर्माण सेवा जेभीसँग ११ करोड १२ लाख ३१ हजार सातसय ४६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । जेठको दोस्रो हप्तासम्म योजनाको भौतिक ७५ प्रतिशत र वित्तिय प्रगति ६४ प्रतिशत हासिल भएको बताइएको छ ।
ठेक्का सम्झौता लगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नम्बर २ को खाल्टीदेखि ४ नम्बर वडाको देवीथान सम्मको सडक फराकिलो पार्ने, नाली बनाउने, कल्भर्ट निर्माण लगायत सडक पूर्वाधारका कामहरु सम्पन्न गरी कालोपत्रको तयारी गरेको सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर शंकरराज काइरालाले जानकारी दिनुभयो ।