बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले लायन्स क्लब अफ धौलागिरि बागलुङसँगको सहकार्यमा विद्यार्थीलाई ट्राफिक नियम र त्यसलाई लागु गर्न ध्यान दिनु पर्ने कुरा सिकाउन थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले लायन्स क्लब अफ धौलागिरि बागलुङ र विद्यामन्दिर माविसँगको संयुक्त आयोजनामा विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो ।
ट्राफिक नियम पालना नगर्दा र ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने र विद्यार्थीहरुले वाल्य कालदेखि नै यसको बारेमा जानकारी राखोस भन्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक सुमन निउरेले नयाँ विश्वलाई बताउनु भयो ।
विद्यार्थीलाई यातायात व्यवस्था ऐन २०४९ का बारेमा जानकारी गराउनुका साथैट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिका, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो।
कार्यक्रममा जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, विद्यामन्दिर माविका विहानी कक्षाका ईन्चार्ज तथा अनुशासन संयोजक कुलराज शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो
। कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, प्रथम उपाध्यक्ष गणेश महतोको स्वागत र सचिव मनोज श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
ट्राफिक सचेतना कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का १ सय ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।