बागलुङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा आज (शनिवार) नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा एकीकृत बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मालिका गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा सञ्चालित शिविरबाट साढे ६ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने उद्देश्यले स्थानीयको माग र आवश्यकताको आधारमा आयोजित शिविरमा कुल ६ सय ६० जना स्थानीयवासी प्रत्यक्ष रुपमा लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।
शिविरको मेडिकलतर्फ महिला, पुरुष र बालबालिकासहित ४ सय ७ जना र आयुर्वेद स्वास्थ्यतर्फ १ सय ४३ जना लाभान्वित भएका छन् । यसैगरी शिविरमा भेटेरिनरीतर्फ ८६ र कृषि सम्बन्धी २४ जना स्थानीय कृषकहरुले सेवा लिएका छन् ।
शनिवार दिनभर सञ्चालन भएको शिविरमा मानव स्वास्थ्यतर्फ जनरल ओपिडी, हार्डजोर्नी, मनोरोग, दन्तसेवा, आँखा परीक्षण, ल्याव, युएसजीलगायत सेवाहरु उपलब्ध गराइएको थियो ।
जनरल ओपिडीतर्फ ग्याँस्ट्रिक, सुगर, प्रेसर, छाला तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीहरु भेटिएको हुँदा उपचार तथा परामर्श सेवा दिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले बताउनुभयो ।
उक्त शिविरमा सैनिक अस्पताल पोखरा, धौलागिरि अञ्चल अस्पताल बागलुङ र बेनी अस्पताल म्याग्दीबाट गरी कुल २५ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचार सेवा प्रदान गरेका थिए ।
शिविरको उद्घाटन गर्दै पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको जनहित कार्य सञ्चालन निर्देशिका–२०७७ अन्तर्गत विभिन्न दुर्गम स्थानमा माग र आवश्यकताअनुसार विपन्न, सिमान्तकृत र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकावासीको स्वास्थ्यलाई लक्षित गरेर विभिन्न प्रयत्नहरु गरिएको बताउँदै यसवर्ष दलित, महिला र विपन्न समुदायलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली सेनाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरले स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारमा सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रमको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पु¥याउने जिल्लास्थित विभिन्न संघसंस्था र कार्यालयहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
शिविरको औपचारिक कार्यक्रम शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका उपसेनानी पुस्करसिंह ठकुरीको सञ्चालनमा श्री नं २३ बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले स्वागतमा सम्पन्न भएको थियो ।