images
images

बागलुङको रेशमा चियाखेती विस्तार

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि रेशमा चियाखेती सुरु गरिएको थियो ।

विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार पु¥याइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङ लगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको उहाँको भनाई थियो । चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी जग्गा भाडामा लिएर खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछानेले बताउनुभयो ।

पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालिएको जनाइएको छ । थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

सात वर्ष अगाडि लगाएका बिरुवामध्ये अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका उहाँले जानकारी दिनुभयो ।

किसानहरूले पनि निकै चासो दिएर बिरुवा रोप्न, झाडी फँडानीदेखि सबै काममा लागेको हुँदा गाउँमै रोजगार सिर्जना हुन थालेको अध्यक्ष लामिछानेको भनाई रहेको छ ।