images
images

तरकारी बेचेर वार्षिक पाँच करोड

बागलुङ । पर्वतको जलजला गाउँपालिका–६, सालिजा गाउँका किसानले तरकारी खेतीबाट वार्षिक रूपमा पाँच करोड रुपियाँभन्दा बढी कमाउने गरेका छन् ।

तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको सालिजा गाउँमा तरकारी खेतीको आम्दानीले यहाँको जीवनस्तरमा निकै परिवर्तन आएको हो ।

सालिजामा उत्पादन भएको आलु, काउली, बन्दागोभी लगायतका ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुस्मा, बागलुङ बजार र पोखरासम्म पुग्ने गरेको स्थानियले बताएका छन् ।

उच्च भूभाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले तरकारी खेती राम्रो फस्ट्याउने गरेको जलजला गाउँपालिका–६, सालिजाका पूर्व वडाध्यक्ष होमबहादुर पुनले बताउनुभयो ।

सालिजामा बसोबास गर्ने करिब आठ सय घरधुरी व्यावसायिक तरकारी खेतीमा लागेका जानकारी दिदै पुनले तरकारी खेती गरेर हरेक घरपरिवारले वार्षिक रूपमा दुई लाखदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

उहाँले सालिजाको मुख्य उत्पादन आलु भएको पनि जानकारी दिनुभयो । खान स्वादिलो भएकाले सालिजाको आलु बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । आलु बिक्री गरेर मात्र गाउँमा करिब एक करोड रुपियाँ भित्रिने गरेको किसानहरुले बताएका छन् ।

जलजला गाउँपालिकाले आलुको बिउमा आत्मनिर्भर बनाउन बिउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न तालिम, उपकरण र बिउमा अनुदान जस्ता कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ थियो ।