images
images

बागलुङको कालापातल तामाखानीको सम्भाव्यता अध्ययन

बागलुङ । बागलुङको कालापातल तामाखानी उत्खनन्का लागि विज्ञ टोलीले सम्भाव्यता अध्ययन थालेको छ ।

बागलुङको जैमिनी नगरपालिका–३ कालापातलको तामाखानीमा खानी तथा भूगर्भ विभागको अनुमतिमा विदेशी प्राविधिक सहितको समूहले प्रारम्भीक सम्भाव्यता अध्ययन सुरू गरेको पालिकाले जनाएको हो ।

करिब सय वर्ष अघिसम्म तामा निकालिएको उक्त स्थानमा विभागको अनुमतिमा मोहङ मिनिरल्स र शुभम् गु्रपले प्रारम्भीक अध्ययन गरिरहेको जैमिनी नगरपालिका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिका–३ का वडा अध्यक्ष कृष्ण भुजेलले पुर्खाले घरेलु हात हतियारले तामा निकालेको भग्नावशेष सुरुङमा अहिले प्राविधिक समूहले तामाको यथार्थ अवस्था पत्ता लगाउन अध्ययन थालेको बताउनुभयो ।

शुभम ग्रुपका निर्देशक अशोक विकले पनि खानीमा सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिनुभयो । अहिले प्रारम्भीक अध्ययन सुरु गरेका जानकारी दिदै बिकले अध्ययनका लागि करिब छ महिना लाग्ने अनुमान रहेको बताउनुभयो ।

तीन वर्षअघि बागलुङ र म्याग्दीका विभिन्न स्थानमा तामाखानीको प्रारम्भीक सम्भाव्यता अध्ययन थालेको शुभम् गू्रपले कोरोना महामारीपछि सो कार्य स्थगित गरेको थियो ।