images
images

बागलुङका २१ रुटमा भाडा समायोजन

बागलुङ । यातायात भाडादर निर्धारण समितिले बागलुङका २१ वटा रुटमा भाडा दर समायोजन गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले यसअघि लिंदै आएको भाडादरमा न्युन शुल्क घटाएर भाडादर कायम गरेको हो ।

बिशेषगरी मध्यपहाडी लोकमार्गको बागलुङदेखि गलकोट, बुर्तिवाङहुँदै जुग्जाखोला र बोङगादोभान सम्मको भाडा समायोजन गरेको हो । दक्षिणतर्फ कुश्मीसेरा र हुग्दीशिरसम्मको भाडा कायम गरिएको हो ।

समितिले बनाएको कार्यदलले ल्याएको प्रस्तावमा बसको मात्रै भाडा घटाएर प्रस्तुत गरेको थियो । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सदरमुकामदेखि बुर्तिवाङसम्मका लागि जिपमा ९ सय ७० रुपैयाँ कायम गरिएको छ ।

बसमा भने ७ सय ८० रुपैयाँ भाडा लाग्ने भएको छ । कुश्मीसेराका लागि बसको २ सय २० र जिपको २ सय ६० बनाइएको छ । मध्यपहाडी लोकमार्गकै खण्ड रहेको अक्षेतेका लागि १ सय भाडा तोकिएको छ ।

जिपमा सुल्डाँडा गएको १ सय ३०, घोडाबाँधे गएको ३ सय ५० निर्धारण गरिएको छ । यस्तै नरेठाँटी गएको ५ सय १०, हटिया गएको ५ सय ६०, गलकोटदेखि ताराखोला गएको ३ सय ५०, बागलुङदेखि हरिचौर गएको ६ सय ७० र खरवाङसम्म पुगेको ८ सय तोकिएको हो ।

सदरमुकामदेखि रत्नेचौरको ९०, बेनीको १ सय ३५ भाडा तोकिएको छ । सदरमुकामदेखि सिधै अर्गल गएको भने ६ सय ३५ रुपैयाँ भाडा कायम भएको जनाइएको छ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले परमिट भएको स्थानको मात्रै समितिमार्फत भाडादर कायम हुने व्यवस्था गरेको छ । दररेट कायम भएपछि बढी असुल गरेको वा टिकट नदिएको अवस्थामा उजुरी गर्न सबैलाई आग्रह गरिएको छ ।