बागलुङ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको लामो समय सम्म पनि यहाँ पर्ने चारवटा खोलामा पुल नबन्दा यातायात सञ्चालनमा समस्या भएको छ ।
पर्वत खण्डअन्तर्गत विभिन्न खोलामा चारवटा मोटरेबल पुल निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म एउटा पनि पूरा हुन सकेको छैन ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चारवटा मोटरेबल पुल निर्माणको तयारी छ ।
कुश्मा नगरपालिका–७ र ८ को बीचमा पर्ने तमादी खोलामा पुल निर्माण भइरहेको कार्यालयका इन्जिनियर धिरज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
६ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्ध बाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ । इन्जिनियर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेबल पुल पनि निर्माण भइसक्नुपर्नेमा अहिलेसम्म सुरु भएका छैनन् ।
कुश्मा–८ मा पर्ने सुन्दरे खोलाको पुल निर्माणका लागि डिजाइन स्वीकृत भइसकेको छ । करिब ८० मिटर लामो पुलको जिम्मा लुम्बिनी प्राकृतिक जेभीले लिएको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले कामदार खटाइसकेको बताए पनि अहिलेसम्म काम सुरु भएको छैन ।
निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेबल पुल बनाउन लागेकाले सबै पुलको लागत ४४ करोड १५ लाख रूपैयाँ रहेको कार्यालयका इन्जिनियर ढकालले जानकारी दिनुभयो ।