
बागलुङ । बागलुङको ढोरपाटनहुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ ।
पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको उक्त सडक आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने आयोजनाहरुको सूचिमा समावेश भएको हो ।
म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले प्रदेश सरकार मार्फत कार्यान्वयन हुने गरि छनौट भएको यो आयोजनाका लागि १ अर्ब बजेट प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
दरवाङदेखि मुुनाहुुदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न एक अर्ब बजेट अनुुमान सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।
बेनी देखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुदै पुर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड भन्दा ७० किलोमिटर दुरी छोटिने म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुुभयो ।
म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुुुना– जलजला–ढोरपाटन सडकलाई जिल्लाका सबै सरोकारवालाले प्राथमिकतामा राखेका छन् । पुर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी रहेको जनाइएको छ ।