images
images

संक्रमण फैलने रोग, खानेपानी र खाद्य गुणस्तर निगरानी बारेमा अन्तरक्रिया

बागलुङ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा संक्रमण तथा महामारी जन्य रोग, खानेपानी र खाद्य गुणस्तर निगरानी सम्बन्धी सरोकारवालाहरु बिच अन्तरक्रिया सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले संक्रमण तथा महामारीजन्य रोग, त्यसले समुदायमा पार्ने प्रभाव र त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी दिनु भएको थियो ।

साथै खाद्य तथा गुणस्तर डिभिजन कार्यालयका खाद्य निरीक्षक सहन्सा कुमार मेहताले होटल, खाजा पसल र रेष्टुरेन्टलाई मापदण्ड अनुसार सञ्चालन गनु पर्ने, अखाद्य खानेकुराले स्वास्थ्यलाई पार्ने प्रभाव र खाद्य उद्योग सञ्चालन गर्दा ध्यान दिनु पर्ने कानुनी र व्यवहारीक पक्षको बारेमा बताउनु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत डिल्ली प्रसाद आचार्यले मानव जिवनमा खानेपानीको महत्व, बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको उपभोक्ता प्रतिको जिम्मेवारी र शुद्ध पानी पिउने उपभोक्ता अधिकार र सरोकारवाला निकायहरु मिलेर शुद्ध खानेपानी नियमित आपुर्तिको लागि खेल्नु पर्ने भूमिकाको बारेमा बताउनु भयो ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले शुद्ध र सफा पानी पिउन पाउनु नागरिकको मौलिक हक भएकोले त्यसको लागि सबै सरोकारवाला निकाय जिम्मेवार हुनुृ पर्ने बताउनु भयो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारी, बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष‘, कोषाध्यक्ष कृष्ण पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालको अध्यक्षता र जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।