बागलुङ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ ।
बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने तालिममा सहभागि भएकाहरुलाई व्यवसाय सञ्चालन गर्न उपकरण उपलब्ध गराइएको हो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने र वडा अध्यक्ष यामबहादुर कार्कीले तालिम समापनका क्रममा प्रस्तावित ३ वटा उद्योगको उद्घाटन र गर्नुभयो ।
१५ जना आवद्ध ज्यामरुककोट सिर्जनशिल महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषा घर्ति घिमिरेले बताउनुभयो ।
१० जना आवद्ध गणेश फाइवर तथा कम्पोष्ट मल उद्योगलाई केराको रेशा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन १ थान, रेशा निकाल्ने प्रविधि १ थान र भर्भि कम्पोष्ट मल बनाउने प्रबिधि १ थान हस्तान्तरण गरिएको छ ।
खबरामा उद्यमी र कृषकलाई सोमबार देखि २ दिन केराको रेशाबाट धागो र मल बनाउने तालिम प्रदान गरिने भएको छ ।
केरा खेतीको पकेट क्षेत्र रहेको खबरामा खेर गइरहेको केराको थामलाई सदुपयोग गर्ने प्रयास गरिएको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले बताउनुभयो ।
आठ जना उद्यमी आवद्ध प्रस्तावित जनश्रमीक महिला उद्योगलाई कपडा धुने सरफ उत्पादन गर्ने १ थान मिक्सचर, सरफ, साबुन, ट्वाइलेट क्लिनर, भाडा माग्ने झोल साबुन, हात धुने झोल साबुन र ग्यास क्लिनिर सामग्री १ थान प्रदान गरिएको मूल आमा समूह सञ्जालका अध्यक्ष पवित्रा कार्कीले बताउनुभयो ।