बागलुङको दक्षिण जैमिनी नगरपालिकामा रहेको पर्यटकिय स्थल हाँडिकोट टापु पछिल्लो समय चर्चामा आउन थालेको छ ।
पूर्वाधार र प्रचारप्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरन स्थल हाँडिकोट टापु पुग्ने आन्तरिक पर्यटकहरु बढ्दै गएपछि चर्चामा आउन थालेको हो ।
हाँडिकोट पुग्नका लागि सडक मार्ग र पदमार्ग दुबै व्यवस्था मिलाएपछि सहज भएको छ ।
जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धाम पछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तिब्रता दिएको जनाएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको रुपमा रहेको हाँडिकोटका थुपै्र विशेषता रहेका छन् जसमध्ये सूर्योदय र सूर्यास्त पर्यटकलाई लोभ्याउने माध्यम बनेकोस्थानीय लाल बहादुर पुनले बताउनुभयो ।
जैमिनी नगरपालिकाको वडा नम्वर १० राङखानी, वडा नम्वर ७ जैदी र वडा नम्वर ८ छिस्तीको शिरमा रहेको हाँडिकोट टापुबाट देखिने मनोरम दृश्यहरु आन्तरिक पर्यटकलाई लोभ्याउने खालको रहेको पुनको भनाई थियो ।
समथर भुभाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शीला सुसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट समेत पर्यटकहरु आउने गरेका छन् ।
हाँडिकोटमा २०७७ साल यता पूर्वाधार निर्माणले तिब्रता पाएको छ ।
हाँडिकोट पुग्नलाई सडक मार्ग, दुई तर्फबाट पदमार्ग, विश्रमास्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेलमैदान, टल्कने शिला संरक्षण लगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु निर्माण भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।