बागलुङ । बागलुङ नगरपालिकामा बालमैत्री नगरका लागि ८० प्रतिसत काम पुरा भएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठ निर्वाचित भएपछि गरेको पहिलो निर्णय कार्यान्वयनको अभियानमा नगरपालिका जुटेको हो ।
पत्रकारहरुका लागि आयोजित बालमैत्री अभियान अभिमूखीकरण कार्यक्रममार्फत नगरपालिकाले बालमैत्री नगर बनाउने निर्णय अहिलेसम्म ८० प्रतिशत काम पुरा भएको जनाएको छ ।
बिशेषगरी पूर्वाधार तर्फका कतिपय काम बाँकी रहेपनि अन्य काम भने पुरा भएको नगर शिक्षा अधिकारी तथा बालमैत्री फोकल पर्सन धनप्रसाद पोखरेलले बताउनुभयो ।
अभिमूखीकरण कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले अभियान नगरको मात्र नभएर राष्ट्रिय अभियान भएको बताउनुभयो ।
नेपाल सरकारले आगामी २०८८ सालभित्र देशलाई नै बालमैत्री बनाउने निर्णय गरेकोले नगर तथा गाउँपालिकाले पनि यो अभियानलाई आफ्नो कर्तव्यको रुपमा अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
उचित श्रोत साधनको सदुपयोग गर्दै बालमैत्री अभियानलाई सफल बनाउने काममा नगरपालिकाले काम गरिरहेको उहाँको भनाई थियो ।
यो अभियानका ५१ वटा सूचक पुरा गर्न सबै क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने प्रावधान रहेको छ । यो वर्ष भने सबै सूचकका लागि बजेटको सुनिश्चितता गरेर आगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने तयारी भएको छ ।
त्यसका लागि बालमैत्री घोषणा भैसकेका स्थानमा कर्मचारी र फोकलपर्सनको अध्ययन भ्रमण समेत गराइएको थियो ।
सबै विद्यालयमा बालक्लब संजाल गठन भएको, वडा वडामा पनि बाल संरक्षणका लागि वडा बाल समिति गठन भएकोले ती संस्था समेत सक्रिय भएर काम गरिरहेको जनाइएको छ ।
अभियान पुरा गर्न साथ र सहयोग गर्ने भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेलसहित पदाधिकारी र क्रियाशिल पत्रकारले पनि हस्ताक्षर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।