images
images

दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन

बागलुङ । पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ ।

उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको पाइएको हो । खोलामै सडक बनाएर निर्माण सामग्री चोरी निकासी हुँदै आएको छ ।

प्राकृतिक स्रोत दोहनले जलजला गाउँपालिका–८ स्थित जनहित सामुदायिक वन क्षेत्रमा पहिरोको समस्या देखिएको छ ।

दमुवा खोलाबाट दैनिकरुपमा निर्माण सामग्री उत्खनन् गर्ने क्रम बढ्दै गएपछि त्यस वरपरको बस्ती नै खतरामा परेको छ ।

दोहनले वर्खायाममा बाढीपहिरोको जोखिम रहेको स्थानीयको गुनासोपछि अनुगमन गर्न पुगेको जिल्लास्तरीय अनुगमन समितिको टोलीले उत्खनन्मा रोक लगाएको छ ।

समितिका प्रमुख विष्णुराम विकका अनुसार कतिपय व्यक्तिले व्यक्तिगत जग्गा चक्लाबन्दी गर्न निर्माण सामग्री निकासी गर्ने गरेको पाइएको छ ।

अनुगमन टोलीले स्थानीय वन क्षेत्र र वन क्षेत्रभन्दा माथि बसोबास गर्ने बस्तीको जोखिमलाई ध्यानमा राख्दै सो खोलाबाट ढुङ्गा र गिट्टी निकाल्न रोक लगाएको हो ।

खोलामा सडक नै निर्माण गरेर ढुङ्गा र गिट्टी निकाल्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो ।