बागलुङ । पुलैपुलको जिल्ला पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो ।
व्यावसायिक सञ्चालनमा रहेको कुश्मा बलेवा यान्त्रिक पुल नजिकै बागलुङ नगरपालिका–१४ नारायणस्थान र कुश्मा नगरपालिका–५ मा अवस्थित गुम्बा जोड्ने गरी कालीगण्डकी नदी माथि पुल निर्माण गर्न लागिएको जनाइएको छ ।
लम्बाई ४ सय ८५ मिटर हुने र ६ करोड लागतमा निर्माण हुन लागेको झोलुङ्गे पुलको निर्माण कार्यले गति लिन लागेको बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रवहादुर केसीले जानकारी दिनुभयो ।
सम्भावता अध्ययन भैसकेको पुल निर्माणका लागि बागलुङ र कुश्मा नगरपालिकाले स्वीकृती दिईसकेको जानकारी दिदै केसीले पुल निर्माणका लागि सरकारले पहिलो चरणअन्तर्गत विस्तृत सर्वेक्षण गरी लागत स्टिमेटको विवरण तयार गरिसकेको बताउनुभयो ।
पुललाई टेन्डर प्रक्रियामार्फत आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाई थियो । यसअघि पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कुश्मा कैया झोलुंगे पुल १ दशक अघि निर्माण भईसकेको छ ।
पछिल्लो समय बञ्जीको पुलले समेत कुश्मा र बलेवा क्षेत्रलाई जोडीरहेको छ । अर्को तर्फ नीजि क्षेत्रबाट शुरु गरिएको कुश्मा बलेवा जोड्ने यान्त्रिक पुलले समेत विगत लामो समय देखि ब्यवसीयक प्रयोजनका लागि सेवा प्रवाह गर्दै आएको छ ।