images
images

सहकारी क्षेत्रप्रतिको विश्वास कायम राख्नका लागि सबै सरोकारवालाहरुबीच सहकार्य आवश्यक : बसन्तकुमार श्रेष्ठ

बागलुङ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको सहकारी क्षेत्रप्रतिको विश्वास कायम राख्नका लागि सबै सरोकारवालाहरुबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संघ संस्थाहरुका लागि आयोजना गरेको कोपामिस सम्बन्धी दुई दिने तालिमको मंगलवार उद्घाटन पछि बोल्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनु भएको हो ।
बागलुङमा प्रदेश र संघीय कार्यक्षेत्र भएका २ वटा सहकारीमा आएको समस्याका कारण सहकारी क्षेत्रप्रतिको विश्वासमा केही कमी आएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
केही सहकारीहरुमा देखिएको समस्याका कारण आम सहकारीलाई आरोपित गर्ने, अविश्वास गर्ने अवस्था रहेको भन्दै उहाँले सहकारीप्रतिको विश्वासलाई कायम राख्नका लागि अभियान, सरकार र अन्य सरोकारवालाहरुबीच सहकार्यमा जोड दिनु भएको हो ।
नगरपालिकाले आफ्नो नियमनमा पर्ने सहकारीहरुको नियमित अनुगमन गरी सुझाव दिनुका साथै सहकारीलाई नीतिगत रुपमा सञ्चालनका लागि क्षमता अभिवृद्धिका कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको उहाँले बताउनु भयो ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत संघका सचिव तेज प्रसाद शर्मा र सञ्चालन बागलुङ नगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्माले गर्नु भएको थियो ।
३५ वटा सहकारीका कोमोमिस हेर्ने कर्मचारीहरुको सहभागिता रहेको तालिममा संघीय सहकारी विभागका कम्प्युटर अधिकृत प्रेम शर्माले सहजीकरण गर्नु भएको छ ।
 सरकारले सम्पूर्ण सहकारीको तथ्यांक समावेश हुने गरी कोमोमिस प्रणालीको व्यवस्था गरेको छ । कोपोमिसमा आवद्ध नभएमा कर कार्यालयबाट प्राप्त हुने करचुक्ता प्रमाण नदिन विभागले सर्कुलर समेत गरिसकेको छ ।