कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन मोटरेवल पुल सात वर्षसम्म पनि पूरा हुन सकेन

बागलुङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन एक मोटरेवल पुल सात वर्षसम्म पनि पूरा हुन सकेको छैन ।

पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापरबाही र गलत डिजाइनका कारण प्रगति ६० प्रतिशत मात्रै पुगेको छ ।

यो पुल निर्माण दुई वर्षमा सम्पन्न हुनेगरी विसं २०७४ असार २८ गते सम्झौता भई विसं २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापरबाहीको कारण अझैपनि पूरा हुन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।

पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाईको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोकमार्गमा सिधा यातायात सञ्चालन हुन सकेको छैन।

कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर सुरेन्द्र गौतमले पुलको नयाँ डिजाइन गरेर पुनर्निर्माण सुरु गरिएकाले ढिलाइ भएको बताउनुभयो । पुल निर्माणका लागि चौँथो पटक थप गरिएको सम्झौताको अवधि आगामी असोज मसान्तसम्म छ ।

अहिले थप गरिएको समयभित्र पुलको काम सम्पन्न गर्नेगरी धमाधम काम गरिरहेको ठेकेदार शिव गौचनले बताए । अलपत्र छाडिएको पुलको निर्माण गत मङ्सिरदेखि सुरु भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रका सांसद, नगर प्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।