
बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा शिक्षकहरुलाई प्रविधिमैत्री दुईदिने तालिम शुरु भएको छ । जापान समाज बिहुँकोटको आयोजनामा शिक्षण सिकाई क्रियाकलापमा मोबाइल एप्सको प्रयोग बिषयक तालिम दिन संचालन गरिएको हो ।
जापान समाज बिहुँकोटले काठेखोला गाउँपालिका वार्ड नम्बर ५ र ६ का शिक्षक शिक्षिकाहरुलाई तालिम संचालन गरेको संस्थाका उपाध्यक्ष भीष्म कंडेलले जानकारी दिनुभयो। कार्यक्रममा उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले शिक्षकहरु प्रविधिमैत्री हुनुपर्ने वताउनुभयो ।
शिक्षकहरूलाई यसरी प्रविधिसँग जोड्ने तालिमले शिक्षा र प्रविधिको अधिकतम उपयोग गरी शिक्षकविद्यार्थी तथा उनीहरूका लागि आवश्यक विषयवस्तुहरू समेत खोज्न सकिने साथै सिकाईलाई अब्बल बनाउन सकिने भनाई थियो।
उहाँले गाउँपालिकालाई समेत प्रविधिसँग जोड्न शिक्षालाई उपलब्धिमूलक बनाउन गाउँपालिकाको बजेट मध्येबाट सबैभन्दा धेरै शिक्षामा खर्च गरिएको र आगामी बजेट समेत निरन्तरता पाउने थापाको भनाइ छ।
अध्यक्ष थापाले काठेखोला गाउँपालिकाले पनि आगामी वर्षको नीति तथा कार्यक्रममा प्रविधि प्रयोग गर्नका लागि कठिनाइ हुने केही शिक्षक शिक्षिकाहरुलाई सम्मानजनक विदाई(हेनचेक) कार्यक्रम गर्ने योजना रहेको बताउँदै उहाँहरुले विगतमा पुर्याउनु भएको योगदान अतुलनीय रहेको बताउनुभयो।
कार्यक्रममा वडा नम्बर ५ का ज्ञाननाथ कडेल, ६ का अध्यक्षहरू बृहस्पति शर्मा संस्थाका उपाध्यक्ष तथा अमर माध्यमिक विद्यालयका प्रधानध्यापक भीष्म कँडेल भीमसेन माविका प्रधानाध्यापक रघुनाथ कडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जापान समाज बिहुँकोटका अध्यक्ष नारायणप्रसाद कडेल राजुको अध्यक्षता,उपाध्यक्ष ज्ञानकुमारी श्रीसको स्वागत र सचिव सुवास कँडेलको संचालनमा सम्पन्न भएको थियो ।