बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजश्व संकलनसमेत वृद्धि हुन थालेको छ ।
सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार राजश्व संकलन गर्न सफल भएको हो । खास गरि ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् ।
वि.सं. २०४४ सालमा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकको लागि उत्कृष्ट गन्तव्य मानिदै आएको छ । अघिल्लो आर्थिक वर्षमा तीन करोड ४८ लाख मात्रै राजश्व संकलन भएकोमा यो आर्थिक वर्षको अन्त्यमा दोब्बर संकलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ ।
ढोरपाटनमा वर्षमा दुई सिजन सिकारका लागि खुला गरिदै आएको छ । चालु आर्थिक वर्षमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख राजश्व संकलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले जानकारी दिनुभयो ।
अनुज्ञापत्र शुल्क बाहेक यसवर्ष पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट नौ लाख चार हजार र हेलिकोप्टर अवतरण गराए बापत ५७ हजार राजश्व संकलन भएको उहाँको भनाइ थियो ।
गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यासमेत बढेको छ । अघिल्लो वर्ष सात हजार छ सय ४५ पर्यटक आएकोमा यस वर्ष ९ हजार ४ सय ३६ पर्यटक आएको कँडेलले जानकारी दिनुभयो ।
वन्यजन्तुको सिकार भने पोहोर र यस वर्ष ३०÷३० वटानै भएका उहाँको भनाइ थियो ।