
बागलुङ । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ ।
नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष एवम् स्वास्थ्यकर्मी शम्भुराज पाण्डेको नेतृत्वमा सुगर, प्रेसर परीक्षण गरिएको थियो ।
स्थापना दिवसको अवसरमा पत्रकार महासंघको कार्यालयमा सरसफाई गर्ने मनकुमारी परियार, म्याग्दीबाट प्रकाशित हुने पत्रिका वितरक गर्ने सन्ते नेपाली र बैदेशिक रोजगारीमा श्रीमान गुमाउनुभएकी जानकी विश्वकर्मालाई करिब २२ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो ।
स्थापना दिवसको उद्घाटन गदैं नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य धुब्रसागर शर्माले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई युनियनले ऐक्यबद्धता जनाएको बताउँदै विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा प्रतिवाद गर्ने बताए ।
स्थापना दिवसको अवसरमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारी म्याग्दीका सचिव अमृत विश्वकर्माले श्रमजीवी पत्रकारको हकहित संरक्षणमा सहकार्यसँगै प्रेस युनियनले रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभयो ।सोही अवसरमा बेनी सामुदायिक विद्यालयका विद्यार्थीको चेकजाँच सँगै सुगर र प्रेसर रोगका बारेमा सचेतनामुलक कार्यक्रम समेत गरिएको थियो ।