images
images

सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण

बागलुङ । म्याग्दी र बागलुङ जिल्लाको सिमानामा रहेको सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार छ सय ३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पूर्वाधार निर्माणले तिव्रता पाएको हो ।

बागलुङको तमानखोला र म्याग्दीको मालिका गाउँपालिकाले सोलेडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न संयुक्त रुपमा पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हुन् । तमानखोला गाउँपालिकाले सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पट, सत्तल लगायतका संरचना निर्माण गरेको छ ।

गाउँपालिकाले संरचना निर्माणसँगै प्रचारप्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटकसमेत बढ्न थालेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । स्थानीय काठ, ढुङ्गाको प्रयोग गरेर सत्तल पनि निर्माण गरिएको छ ।

पानी, झरी पर्दा, हावाहुरी चल्दा बाहिरबाट घुम्न आएका पर्यटकलाई ओत लाग्नका लागि सहज भएको उहाँले बताउनुभयो । सोलेडाँडामा तमानखोला गाउँपालिकाले सहिदपार्क निर्माण गरेर सालिक राखेको छ ।

गाउँपालिकाले हालसम्म करिब ३० लाख रुपियाँ बढीको संरचना निर्माण गरेको उहाँले बताउनुभयो । सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने निति रहेको म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।