बागलुङ । बागलुङको जैमिनी नगरपालिकाका किसान केराखेती तर्फ आकर्षित भएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षदेखि किसानलाई केराका बिरुवामा अनुदान उपलब्ध गराउन थालेपछि यसतर्फ उनीहरुको आकर्षण बढेको हो ।
नगरपालिकाले केरा खेती गर्ने किसानका लागि प्रतिबिरुवा २० रूपैयाँ अनुदान उपलब्ध गराउन थालेपछि स्थानीयले धान फल्ने खेतमा केरा खेती गर्न थालेका हुन् ।
बागलुङ तथा कुश्मा बजारमा कुश्मीशेराका केराको माग बढी हुनाका साथै उत्पादन पनि बढी हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न अनुदान उपलब्ध गराइएको जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताउनुभयो ।
यहाँका एक सय किसानलाई अन्य कृषि पेसासहित केरा खेतीमा पनि जोडिएको उहाँले जानकारी दिनुभयो । जैमिनी–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्माले घर पारिको खेतमा केराका बिरुवा लगाउन दैनिक चार जना खेताला परिचालन गरेको बताउनुभयो ।
शर्माका अनुसार आठ रोपनी जमिनमा यतिबेला सयौँ केराका बोट छन् । उहाँले २५ रोपनी जमिन रहेको भन्दै बाँकी खेतमा पनि केरा लगाउने योजना बनाएको बताउनुभयो । यस वर्ष मात्रै दुई हजार तीन सय ५० केराका बिरुवा लगाएको शर्माले जानकारी दिनुभयो ।
शर्मा मात्रै होइन, यहाँका अधिकांश किसानले धान फल्ने खेतमा केरा लगाउन थालेका छन् । कुश्मीगाउँका धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्णप्रसाद शर्मालगायतले धान रोपाइँ नगरेर केराखेती थालेका हुन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि यस क्षेत्रलाई केराको ‘पकेट जोन’ मानेको छ ।
नगरपालिकाले केरा पकेट विस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ सञ्चालन गरेको कृषि प्राविधिक शर्माले जानकारी दिनुभयो ।