images
images

खानेपानी समस्या टार्न ‘बोरिङ’ को पानी

बागलुङ । पर्वतको फलेवास नगरपालिका–३, शङ्करपोखरीका बासिन्दाले ‘बोरिङ’ प्रविधिको पानीबाट तिर्खा मेटाउने भएका छन् ।

खानेपानीको समस्याले आक्रान्त बनेका शङ्करपोखरीका बासिन्दाले खानेपानीको स्रोत नजिक नहुँदा टाढाबाट ल्याएको पानीले दीर्घकालीन समाधान हुन नसकेपछि ‘लिफ्ट’ प्रविधि र ‘बोरिङ’ प्रविधिमार्फत तिर्खा मेटाउने भएका हुन् ।

पानीका लागि जिल्लाकै समस्याग्रस्त मानिएको उक्त क्षेत्रका धेरै परिवार पानीकै सङ्कटका कारण विस्थापित भएका छन् ।

शङ्करपोखरीका करिब आठ सय घरधुरी खानेपानीको भरपर्दो विकल्प नहुँदा अझै पनि पानीका लागि आकासेपानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी कमल भुसालले बताउनुभयो ।

पानीका लागि दशकौँदेखि सङ्घर्ष गर्दै आएको भएपनि नजिकमा स्रोत नभएको र टाढाबाट ल्याएको पानी मर्मत गर्न नसक्दा सधैँ काकाकुल अवस्थामा रहेको भुसालको भनाइ रहेको छ ।

पछिल्लो समय बोरिङ प्रविधि भित्रिएपछि स्थानीयवासीले विकल्पका रूपमा यसलाई अगाडि बढाएको वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताउनुभयो ।

पानीको समस्या टार्न झन्डै १ सय ४० मिटरको गहिराइबाट प्रतिसेकेन्ड दुई लिटरका दरले झरेको पानी स्थानीय दुई सय परिवारलाई वितरण गरिने वडाध्यक्ष कार्कीले बताउनुभयो ।

प्रायः दलित परिवार रहेको बस्तीमा पाइपमार्फत पानी वितरण गर्ने तयारी गरिएको छ ।

वडाको तेस्रो स्थानमा बोरिङबाट पानी निकालेर वितरण भएको भए पनि यसका लागि बजेट भने नआएको तर कम्तीमा १० लाखबाट बोरिङको काम सुरु भएको कार्कीले जानकारी दिनुभयो ।

गाउँमा पानीका कारण बस्ती नै विस्थापित बन्दै गएको अवस्थामा नगरपालिकाले समेत सक्दो सहयोग गर्ने र खानेपानी पाउने नागरिकको अधिकारलाई पूरा गराउन सबै स्रोतसाधनको प्रयोग गर्न तयार रहेको फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले बताउनुभयो ।