images
images

म्याग्दीको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो ।

विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताउनुभयो । १ घण्टा लाग्ने यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु रु तीन सय भाडा रहेकामा हाल रु दुई सय ५० कायम गरिएको छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुुगेको छ ।

यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ (१) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ ।