images
images

संरक्षणका नाममा डोजर लगाएपछि बागलुङका ताल सुक्दै

बागलुङ । संरक्षणका नाममा डोजर लगाउँदा बाग्लुङमा रहेका ताल सुक्दै गएका छन् । गाउँपालिका तथा नगरपालिकाले संरक्षणका लागि भन्दै तालबीचमै डोजर लगाएपछि तालहरू सुक्न थालेका हुन् ।

जैमिनी नगरपालिका वडा नम्बर ३ मा रहेको गाजाको दह, ढोरपाटन नगरपालिका नम्बर ९ मा रहेको रुद्र ताल, काठेखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको खोर ताल र तमानखोला गाउँपालिका वडा नम्बर २ मुठाचौरमा रहेको बराह ताल सुक्न थालेका हुन् ।

२०७८ सालमा गाजाको दहमा डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । तालको क्षेत्र विस्तारपछि झन्डै ४० प्रतिशत पानी घटेको स्थानीय बताउँछन् ।

काठेखोला–४ तङ्गाममा रहेको खोर ताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । अघिल्लो वर्ष गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानले बताउनुभयो ।

रुद्र तालमा नगरपालिकाले छ वर्ष अगाडि डोजर लगाएपछि अहिले पानी निकै कम भएको छ । तमानखोला–२ मुठाचौरमा रहेको बराह तालमा पनि पानीको मात्रा घटेको स्थानीय बताउँछन् । गाउँपालिकाले ताल संरक्षण गर्न भनेर बार लगाउनुका सधैँ त्यस वरपर थुप्रै पूर्वाधार निर्माण गरेको छ ।

जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख अमर थापाले ताल पानीको स्रोत भएको हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पालिकाको भएको भन्दै डोजर लगाउन नहुने बताउनुभयो । डोजर लगाउँदा धेरै ठाउँमा पानीको मुहानसमेत सुकेको हुँदा ताल क्षेत्र वरपरसमेत ठूलो उपकरण चलाउन नहुने उहाँको भनाइ छ ।