बागलुङ । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जमिनमा खायन जातको वर्खे आलुको खेती गरिएको छ । १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपमा आलुखेती गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
केन्द्रका प्राविधिक सहायक नवराज भुसालका अनुसार, समुदायमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत म्याग्दीभित्रका १३ वटा कृषक समूहले एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ रुपैयाँको आलुको बीउ खरिद गरेर व्यवसायिक रुपमा खेती गरेका हुन् ।
कृषक समूहका करिब दुई सय परिवारले म्याग्दीको रघुगंगा, धवलागिरि, मंगला गाउँपालिका र बेनी नगरपालिकाका ८ सय ९८ रोपनी क्षेत्रफलमा एक करोडभन्दा बढी मूल्यको आलु लगाइएको भुसालले जानकारी दिनुभयो ।उहाँका अनुसार यसवर्ष बर्खे आलुका लागि विभिन्न १५ वटा कृषक समूह छनोट भएको भएपनि कार्यक्रमका लागि सम्झौता गर्न १३ वटा समूहमात्रै आएका थिए ।
खायन आलु उत्पादन प्रवर्द्धन अन्तर्गत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखिएको ज्ञान केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । ‘म्याग्दीको उत्पादकत्वका हिसाबले यसवर्ष ७ सय ६५ मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरेका छौं’, कृषि केन्द्रका प्रमुख बाँस्तोलाले भन्नुभयो ।