images
images

सत्यतथ्य बाहिर ल्याउन नेपाल महिला संघ बागलुङको माग

बागलुङ । परिवर्तित नाम बागलुङ छ को रहस्यमय मृत्युको बारेमा छिटो सत्यतथ्य बाहिर ल्याउन नेपाल महिला संघ बागलुङले माग गरेको छ ।

नेपाल महिला संघ बागलुङले मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै नाबालिक मृत्युको रहस्यमय घटनाको छिटो सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही हुने वातावरण सिर्जना गर्न माग गरेको हो ।

महिला संघले नाबालिकको रहस्यमय मृत्युको घटनाले नेपाल महिला संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै हप्ता दिन बितिसक्दा पनि उनको रहस्यमय मृत्युको बारेमा कुनै तथ्य बाहिर नआएकाले प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ ।

नेपाल महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्माले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा एउटा छोरी चेलीलेको दर्दनाक र रहस्यमय मृत्युले फेरी एक पटक महिला माथिको हिंसा, चरम यातना र पीडालाई पुनरावृत्ति गराएको भन्दै घटनामा तत्काल अपनाउनुपर्ने सावधानी, अनुसन्धान र न्याय सम्पादनमा देखिएको ढिलासुस्तीका कारण पीडित पक्ष र सिंगो बागलुङ न्यायका लागि आन्दोलित हुनु परेको भन्दै पीडित पक्षको न्यायका लागि कानुनी कारबाहीको न्यायिक प्रक्रिया र सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुने दिशामा सम्बन्धित पक्ष थप विश्वसनिय देखिनु आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

घटनाको उच्चस्तरीय छानबिन टोलीबाट निस्पक्ष छानबिन गरी सत्यतथ्य व्यहोरा पीडितलाई जानकारी गराउँदै दोषीलाई हदैसम्मको कारबाही गर्नका लागि ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले घटनाका आरोपीहरु पक्राउ परिसकेको र अनुसन्धान प्रक्रिया अगाडि बढेका जानकारी गराउनुभयो ।