
बागलुङ । बडिगाड गाउँपालिका–३ मा चरम खानेपानी अभाव भएपछि आर्थिक वर्ष ०६७/६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । २ करोड ८५ लाख २९ हजार रुपैयाँमा सक्ने गरी काम सुरु भएको उक्त आयोजना १२ वर्षसम्म अपुरो छ ।
हालसम्म ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजनाको लागत ठूलो हुने तर बजेट कम पर्दा समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रमुख किरण पौडेलले बताउँछन् ।
ढोरपाटन नगरपालिका–२ र ३ मा आर्थिक वर्ष ०७४/७५ मा पम्पिङ खानेपानी आयोजना परेको थियो । आयोजना परे पनि लामो समय बजेट नपर्दा हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । चालु आर्थिक वर्षमा सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
उक्त आयोजनाको कूल लागत ५ करोड ३४ लाख ५२ हजार तोकिएको छ । खानेपानी डिभिजन कार्यालयका प्रमुख पौडेलका अनुसार आयोजना पूरा हुन अझै ३ करोड रुपैयाँ आवश्यक पर्छ । हालसम्म यो आयोजानामा ८५ लाख ७९ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।
यसरी नै बागलुङमा आवश्यक बजेट अभावमा वर्षौंअगाडि सुरु भएका आयोजना अलपत्र पर्न थालेका छन् । बागलुङमा ५ ठूला खानेपानी आयोजना बजेट अभावमा अलपत्र पर्ने अवस्थामा पुगेका हुन् । २ वर्षमा सकिनुपर्ने कतिपय आयोजना बजेट विनियोजनमा हेलचक्र्याइँ गर्दा वर्षौंसम्म पूरा हुन सकेका छैनन् ।
जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको उपल्लाचौरमा आर्थिक वर्ष ०७५/७६ मा लामिचौर रमेटार खानेपानी आयोजना सञ्चालन भएको थियो । ३ करोड १४ लाख रुपैयाँ लागतमा निर्माण थालिएको उक्त आयोजनाको हालसम्म ४५ प्रतिशतमात्रै काम सकिएको छ ।
चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि प्रदेश सरकारबाट १५ लाख बजेट विनियोजन भएको थियो । डिभिजन प्रमुख पौडेलका अनुसार आयोजना सम्पन्न गर्न अझै ३ करोड ५५ लाख छ हजार आवश्यक पर्दछ । यस्तै आर्थिक वर्ष ०७६/७७ मा बडिगाड गाउँपालिकामा सुरु भएको भीरकटेरा खानेपानी आयोजना अहिलेसम्म ५० प्रतिशतमात्रै सकिएको छ ।