images
images

राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ जोडिएको छ

बागलुङ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ जोडिएको छ। एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट ब्रेक थ्रु भएको हो ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्द्धक रहेको यस आयोजनाको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु) देखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइप लाइन राख्ने सुरुङ जोडिएको आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले जानकारी दिनुभयो ।

सुरुङ जोडिएपछि प्रेसर साफ्टमा पाइपलाइन जडानको काम गर्ने राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले जनाएको छ ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ। ६ हजार २७० मिटर लामो सुरुङ मध्य अडित १ र २ जोड्ने १२५ मिटर मात्र खन्न बाँकी रहेको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।

दोस्रो र तेस्रो अडिट जोड्ने ३ हजार ८३६ मिटर लामो सुरुङ गत फागुन १० गते जोडिएको थियो । आयोजनाको सिभिल तर्फको समग्रमा भौतिक प्रगति ५७ प्रतिशत छ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ।