सिम–लाम्पाटा खण्ड कालोपत्रे

बागलुङ । पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार भएको छ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटासम्मको सड़क कालोपत्रेका लागि बेस विच्छाइएको छ।

सडकखण्डको लाम्पाटादेखि पानाबगरसम्मको सडकखण्डमा समेत संरचनाको काम भइरहेको ओमबृद्धका प्रतिनिधि डम्बर सापकोटाले बताए।

उनका अनुसार सिमदेखि लाम्पाटासम्म कालोपत्रेका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको र लाम्पाटादेखि पानाबगरसम्मको सरचनाहरु बनाउने काम धमाधम भइरहेको बताए।

सडक कालोपत्र गर्न २००८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २९ हजारमा ठेक्का सम्झौता भएको थियो।

सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गरिएको प्रतिनिधि सापकोटाको भनाई छ। अहिले मजदुर र हेभी इक्युमेन्टबाट धमाधम काम भइरहेको छ।

पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बाग्लुङको तमानखोला गाउँपालिका र रकुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा समेत अगाडी बढाइएकोछ।

२०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङको यात्रा सिम लाम्पाटा क्षेत्रमा कालोपत्रे भएपछि छोटिने छ।

बेनी–दरवाङखण्डको लामा समानान्तर जेभीले रु ४५ करोडमा ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र गरी हस्तान्तरण गरिसकेको छ भने दोस्रो खण्ड पनि आगामी आवभित्र नै सकिने अवस्था छ तर तेस्रो खण्ड बिरुवा क्याराभान जेभीले २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको मंगला गाउँपालिका–२, रनबाङ नजिकदेखि दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम भने सुस्त गतिमा छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले निर्माण कम्पनीलाई ताकेता गरिएको बताए।

उनका अनुसार सुस्त गतिका योजनाहरुलाई पूर्णता दिन निरन्तर दवावले समेत काम गरिरहेको बताए।