१७ वर्षिय बालिकाको शंकास्पद मृत्युको अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक

बागलुङ । काठेखोला गाउँपालिका १ खहरेकी १७ वर्षिय युवतीको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत प्रारम्भिक नतिजाबारे जानकारी गराएको हो ।

मृतक परिवार तथा अधिकारकर्मीहरुले निष्पक्ष छानविनको माग गर्दै आन्दोलन गरिरहेका बेला प्रहरीले अनुसन्धान र कारवाही प्रक्रियाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

प्रहरीले घटनाको छानविन गर्न गठित अनुसन्धान समितिले प्रारम्भिक काम थालिसकेको जनाएको छ ।

धौलागिरी अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार ती युवती बागलु ६ को झुण्डिएर मृत्यु भएको पाईएको छ ।

‘ह्याङ्गीङ भन्ने रिपोर्ट रहेको र भिसेरा रिपोर्ट नआउने बेलासम्म अझै केही भन्न सकिँदैन’ जिल्ला प्रहरी प्रमुख ऋषिराम कँडेलले बताउनुभयो ।

‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै रहेको कँडेलको भनाई छ ।

प्रहरीले बागलुङ ६ झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेको छ । बाबुआमालाई सम्बोधन गर्दै क्षमा मागेको र आफुलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले जानकारी दिनुभयो ।

प्रहरी स्रोतका अनुसार उनले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आँफु मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् ।

मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी प्रमुख कँडेलले बताउनुभयो ।

प्रहरीले घटनाको छानविनमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ ।

घटनाको अनुसन्धान गर्न जिम्मेबारी दिएका प्रहरी अधिकृतमाथी नै पीडित पक्ष असन्तुष्ट देखिएकाले अनुसन्धान अधिकृत परिवर्तन गरिएको कँडेलले बताउनुभयो ।

‘तथ्य र प्रमाण जुटाईरहेको प्रहरी कोही कसैबाट प्रभावित नहुने चर्चा गर्दै ‘कानूनले तोकेभन्दा तलमाथी गर्दैनौ ।

परिवार र सरोकारवालाले भिसेरा रिपोर्ट नआउने बेलासम्म शव बुझ्न मानेका छैनन् । मृतकको शव एक सातादेखि धौलागिरी अस्पतालमा राखिएको छ ।