images
images

रिठे डाँडामा पर्यटन पूर्वाधार निर्माण

बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेस्थित पर्यटकीय क्षेत्र रिठेडाँडामा पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् ।

रिठेडाँडामा नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गर्दै आएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधार निर्माण गरिरहेको जैमिनी नगरपालिका–५ का अध्यक्ष ठगबहादुर थापाले बताउनुभयो ।

अग्लो डाँडाको शिरमा समथर भूभाग छ । आन्तरिक पर्यटक घुम्न आउने हुँदा रिठेडाँडालाई उत्कृष्ट गन्तव्य बनाउन संरचना थपिदै गएका छन् ।

हालसम्म ४५ लाखभन्दा बढी लगानी गरिसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

रिठेडाँडामा शौचालय, खानेपानी, चौतारा, मन्दिर घेराबार लगायतका संरचना बनिसकेका छन् ।

नगरपालिकाले आगन्तुकका लागि चौतारीसंगै घामपानी छेक्न विश्रामस्थल निर्माण गरिएको थापाले बताउनुभयो ।

‘रिठेडाँडा जैमिनीको मात्रै नभई सिंगो बागलुङको पर्यटकीय क्षेत्र हो, वर्षौंदेखि ओझेलमा रिठेडाँडा लगानी गर्दै आएका छौँ’ उहाँले भन्नुभयो ।

यसवर्ष पनि प्रदेश र नगरपालिकाको १० लाख बजेटमा शौचालय र खानेपानीको काम हुँदैछ ।

रिठेडाँडामा पर्यटन पूर्वाधार निर्माणसँगै प्रचारप्रसार हुन थालेपछि पर्यटक बढेको जैमिनी नगरपालिका वडा नं. ५ का स्थानीय हर्कबहादुर थापामगरले बताउनुभयो ।

गाईभैँसी चरन क्षेत्रका रुपमा प्रयोग हुँदै आएको रिठेडाँडा अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भईरहेको छ । चाडपर्वमा यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।