बागलुङ । पवित्र कालीगण्डकीको दोहनसँगै शालिग्राम शिला संकटमा परेपछि सरोकारवालाहरुले कालीगण्डकी सभ्यतालाई बचाउन आफै सेना निर्माण गर्ने भएका छन् ।
स्थानीय प्रहरी प्रशासनले समेत कालीगण्डकीको अवैध दोहन रोक्ने पहल नगरेपछि दिनानुदिन कुरूप बन्दै गएको कालीगण्डकी संरक्षणका लागि प्रकृति पर्यावरण तथा शालग्राम संरक्षण अभियानले शालग्राम सेना निर्माण गर्ने जनाएको हो ।
कुनै हालतमा पनि कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समितिले नयाँ शैलीको अभ्यास गर्ने भएको संरक्षण समितिका जिल्ला अध्यक्ष यज्ञबहादुर थापाले बताउनुभयो ।
प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले यस्तै अवधारणामा रहेर शालिग्राम शिला पाइने एक मात्र कालीगण्डकी नदीमा नयाँ अभ्यास गरिने भएको उहाँले जानकारी दिनुभयो ।
पर्वत सदरमुकाम कुश्मा बजारसँग जोडिएको पवित्र तीर्थस्थल मोदीवेणी धामसम्मको भागमा रहेका शिलाहरूमा भगवानका नाम लेख्ने तयारी थालिएको पनि उहाँले बताउनुभयो ।
जिल्ला अध्यक्ष थापाका अनुसार जेठ छ गते श्रीकृष्ण मोहिनी एकादशी तिथिको अवसरमा कालीगण्डकी तटमा स्नान सहित भजन कार्यक्रमको आयोजना पनि गरिएको छ ।
जेठ छ गते विशेष रूपमा सुरु हुने यो कार्यक्रम अन्य एकादशीहरूमा पनि सञ्चालन हुने र करिब १० हजार भक्तजनहरू यसमा सहभागी हुने अनुमान गरिएको छ ।