
बागलुङ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समृद्ध नेपाल निर्माणको संकल्प एमालेसंग मात्रै रहेको दावी गर्नु भएको छ ।
समाजवादको आधार तयार गर्नका लागि नगर, गाउँ कमिटीले स्पष्ट योजना र दृष्टिकोणसहित लाग्न आग्रह गर्दै मिसन ८४ अन्तरगत एमालेले विजय हासिल गरेपछि बामपन्थी एकता सहित सुखी नेपाली समृद्ध नेपाल बनाउने संकल्प पुरा गर्ने पाण्डेले बताउनुभयो ।
नेकपा एमाले काठेखोला गाँउ कमिटीको दोस्रो अधिवेशनको शनिवार बिहुमा उद्घाटन पछि बोल्दै नेता पाण्डेले प्रत्येक निर्वाचनमा भएको कमी–कमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिँदै एक–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने बताउनुभयो ।
पुर्व अर्थमन्त्री समेत रहनुभएका पाण्डेले मुलुकको सुस्ताएको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारको अस्त्र समाउनु पर्नेमा जोड दिनुभयो ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज मन कुमारी के.सी जि.सी, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रिय सदस्य तथा रिटर्नी फेडरेशन इन्चार्ज डाक्टर सुर्य पाठक, बागलुङ जिल्ला कमिटीका अध्यक्ष हिरा बहादुर के.सी, नेपाली कांग्रेस काठेखोलाका अध्यक्ष ज्ञामदत्त कंडेल, राष्ट्रिय जनमोर्चा काठेखोला अध्यक्ष लक्ष्मण पुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले काठेखोला गाँउ कमिटीका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, उपसचिव नर बहादुर क्षेत्रीको स्वागत तथा सचिव विद्यापति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।