बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले वडा नम्वर ३ मा जीर्ण बनेको पञ्चायत भवन पुर्ननिर्माण गरेको छ ।
साबिकका ६ गाउँले संयुक्त रुपमा निर्माण गरेको पञ्चायत भवन जीर्ण बनेपछि पालिकाले पुर्ननिर्माण थालेको हो । पालिकाको १० लाख रुपैयाँ लागतमा भवन पुर्ननिर्माण थालिकाएको निर्माण समितिका अध्यक्ष ललितबहादुर घर्ति मगरले बताउनुभयो ।
जीर्ण भवनको संरक्षण र पुनः उपयोग गर्ने उद्धेश्यले पुर्ननिर्माण गरिएको उहाँको भनाई थियो । भवनको पुर्ननिर्माण गरिएसँगै गाउँमा हुने अन्य सामाजिक कामको लागि समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
भवन निर्माणको एकीन मिति नभएपनि लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले पुर्ननिर्माण गरिउको जानकारी दिदै उहाँले पञ्चायत भवन साबिक लुकुरबन, खुङ्गा, नर्जा, खुंखानी, तमान, लाममेला नागरिकले मिलेर निर्माण गरेको स्मरण गर्नुभयो ।
भवन पुर्ननिर्माणको लागि तमानखोला गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरेको थियो । भवन पुर्ननिर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष घर्ति मगरले बताउनुभयो ।
वडा अध्यक्ष झक बहादुर बुढाले भवन सम्पन्न भएपछि केही समय वडा कार्यालय राखिने र पछि पुस्तकालय बनाइने बताउनुभयो । भवन सामुदायिक रुपमा उपयोग गरिने उहाँको भनाई थियो ।