गलकोट ओखरबोटबाट काठमाण्डौ रात्रीकालिन बस सेवा सुरु

बागलुङ । गलकोट नगरपालिका वडा नं. ४ को केन्द्र ओखरबोटबाट पहिलो पटक मुलुकको राजधानी काठमाण्डौमा रात्रीकालिन डिलक्स बस सेवा सुरु भएको छ ।

निसीभुजी उत्तरगंगा बराह यातायात बहुउद्येश्यीय प्रा.लि.ले स्थानीयसँगको सहकार्यमा उक्त बस सेवा सञ्चालन गरेको हो । बागमती प्रदेश ०१००६ ख ३९९६ नम्बरको ‘डिलक्स’ बस पहिलो पटक यात्रु लिएर यहाँबाट राजधानी काठमाण्डौका लागि प्रस्थान गरेको छ ।

सेवा शुभारम्भ गर्दै गलकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बल बहादुर खत्रीले गाउँबाटै राजधानी सम्म सुरु गरिएको डिलक्स बस सेवाले सार्वजनिक यातायातमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले सर्वसाधारण नागरिकप्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रह गर्नुभयो ।

बससेवा ओखरबोटबाट दैनिक दिउँसो ३ बजेदेखि ४ बजे सम्मको समयमा छुट्ने समितिले जनाएको छ । काठमाण्डौबाट पनि सोही अनुसार बस छुट्ने छ । ग्रामिण क्षेत्रमा बस्ने नागरिकलाई लक्षित गरि यात्रुको चाहना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा शुभारम्भ गरिएको युवा समाजसेवी महेन्द्र खड्काले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका भल्कोबाट छुटेको बस जुग्जाखोला, बुर्तिबाङ बजार, खर्बाङ बजार, गलकोट हटिया बजारहुँदै ओखरबोट, नरेठाँटी, भ्यूटावर, अक्षेते बागलुङ बजार हुँदै काठमाण्डौसम्म पुग्ने समितिले जनाएको छ ।

ओखरबोटमा काउन्टर स्थापना गरी बस सेवाको शुभारम्भ गरिएको बताईएको छ अब प्रचार प्रसार र व्यवस्थापनको काम अगाडी बढाईने काउन्टर सञ्चालक गंगा बहादुर खत्रीले बताउनुभयो ।

बस सेवाबाट स्थानियबासी प्रत्यक्ष लाभान्वित हुनेछन् । गाउँबाटै बस सेवा उपलब्ध भएपछि बस चढन हटिया बजार र मध्यपहाडी लोकमार्गमा नै पुग्नु पर्ने बाध्यता हटेको छ । यात्रुको चाप अनुसार सेवालाई थप विस्तार गरिने समितिले जनाएको छ ।

ओखरबोटमा काउन्टर स्थापना गरी बस सेवाको शुभारम्भ गरिएको छ, अब प्रचार प्रसार र व्यवस्थापनको काम अगाडी बढाईने काउन्टर सञ्चालक गंगा बहादुर खत्रीले बताउनुभयो ।

बस सेवाबाट स्थानियबासी प्रत्यक्ष लाभान्वित हुनेछन् । गाउँबाटै बस सेवा उपलब्ध भएपछि बस चढन हटिया बजार र मध्यपहाडी लोकमार्गमा नै पुग्नु पर्ने बाध्यता हटेको छ । यात्रुको चाप अनुसार सेवालाई थप विस्तार गरिने समितिले जनाएको छ ।