images
images

जैमिनी र ताराखोलामा आलु संरक्षण अभियान

बागलुङ। बागलुङको जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातीको आलु संरक्षण अभियान थालिएको छ ।

बजारमा तराइका आलुभन्दा अधिकांसले स्थानीय आलुको माग गर्दै आएको अवस्थामा स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको काम भएको हो । जैमिनीको वडा नम्वर ३ को नौला, गाजाको दह, नेपाने बस्तीमा आलु प्रसस्त फल्ने गरेको छ ।

आलुलाई व्यवसायिक बनाउन वडा तहमा पहल भएको हो । वडाको अभियानमा पालिकाले साथ दिएको वडा नंम्वर ३ की सचिव सिमाना छन्त्यालले बताउनुभयो । यसअघि ताराखोलाको वडा नम्वर ४ र ५ मा खायन आलु संरक्षण अभियान शुरु भैसकेको छ ।

यसअघि जैमिनी ३ का अधिकांस किसानले अन्नको पैचोका लागि मात्र आलु प्रयोग गर्ने गरेपनि अहिले भने बजारसम्म लैजान सहज हुने भएपछि व्यवसायिक रुपमा उत्पादन शुरु भएको वडा नं. ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले अर्गानिक खायन आलु बिस्तार गर्न सकेमा बजारको कमी नहुने बताउनुभयो ।

पुनका अनुसार ताराखोलामा मात्रै ‘खायन आलु प्रवद्र्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर कार्यक्रम संचालन भएको छ ।