बागलुङ । राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङबाट मुस्ताङतर्फ ट्रेकिङ पदयात्रा गर्दै गरेका दुई भारतीय पर्यटकको बिहिबार हेलिकोप्टर मार्फत सकुशल उद्दार गरिएको छ ।
१० जना भारतीय पर्यटक र ६ जना पथप्रर्दशक भरियासहित १६ जनाको टोली मनाङ र मुस्ताङको सीमाक्षेत्र थोरङ्लापास हुँदै मुक्तिनाथ आउने क्रममा प्रतिकुल मौसमका कारण टोली मध्ये २ जना भारतीय बुधबार दिउँसो सम्पर्कविहीन भएका थिए ।
उनीहरुको सुरक्षा निकायको समन्यमा हेलि मार्फत सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
काठमान्डौंस्थित हिमालयन ओन्ड्रस ट्रेनिङ एजेन्सी मार्फत ७ जना पुरुष र ३ जना महिला भारतीय पर्यटकसहित १६ जनाको टोली मनाङ हुँदै मुस्ताङ झर्ने क्रममा मुस्ताङको थोरङ्लापासमा भारतस्थित मुम्बईका नागरिक दम्पत्ती टोनी पार्रमर र अमनज्योति पार्रमर प्रतिकुल मौसमका कारण सम्पर्कविहिन भएका थिए ।
भारतीय पर्यटक सम्पर्कविहीन भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयको कमाण्डमा ७ जनाको प्रहरी टोली ,ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेलको कमाण्डमा २ जना प्रहरी टोली र नारायण दल गण जोमसोमबाट खटिएको सुरक्षा टोलीले उद्दार गरेको हो ।
सोमबार दिउँसो देखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटकलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ स्थित थोरङ्लापासको तल टी—सपको छाप्रोमा खोजतलास गर्दा सकुशल फेला परेका थिए ।
सम्पर्कविहीन भारतीय पर्यटक श्रीमान टोनी पार्रमर र श्रीमती अमनज्योती पार्रमरलाई प्रहरी र नेपाली सेनाको समन्वयमा त्यहाँबाट उद्दार गरी एअर डाईनेष्टिकको हेलिकोप्टर मार्फत जोमसोम हुँदै काठमान्डौं उद्दार गरिएको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।