
बागलुङ। बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा स्थानियवासी अन्धकारमा बस्न बाध्य छन् ।
वर्षौँदेखि लघु जलविद्युतको भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि स्थानियवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।
पानीको बहाव कम हुँदै गएपछि विद्युत उत्पादन पनि घटेको बताइएको छ । यति बेला स्थानीयलाई एउटा चिम बल्न पनि मुस्किल परेको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो ।
वडा कार्यालयबाट सेवा प्रवाहमा समेत समस्या हुँदै आएको उहाँको भनाई थियो । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् ।
जलविद्युत भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उहाँको भनाइ छ । जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।
नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत आयोजना, पात्लेमा तीन किलो वाटको खालीखोला लघु जलविद्युत आयोजना र भित्री वनमा छ किलो वाटको बराहथानखोला लघु जल विद्युत आयोजना सञ्चालनमा रहेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले नर्जाखानी गाउँमा अघिल्लो वर्ष नै म्याग्दीबाट केन्द्रीय प्रसारण लाइन ल्याउने योजना बनाइएको भन्दै बजेट अभावका कारण कार्यान्वयन नभएको बताउनुभयो ।