बागलुङ । हिमाली जिल्ला म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासले म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो ।
छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ ।
बालबालिकाले जन्मेदेखि १५ महिना भित्र लगाउनुपर्ने सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
सोमबार पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र म्याग्दीले प्राप्त गरेसँगै जिल्लामा कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको मान्न सकिने जिल्ला खोप समन्वय समितिका प्रमुख एवम् जिल्ला समन्वय प्रमुख राजकुमार थापाले बताउनुभयो ।
खोप लगाएका बालबालिकाहरूको पनि पुनः भेरिफाइपछि पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरिएको थापाले बताउनुभयो ।
पूर्ण खोप सुनिश्चितता घोषणा पूर्व जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य क्षेत्रका मानिसहरूका साथै जिल्लाका प्रशासनिक क्षेत्रका व्यक्तित्वहरू सहितको ¥यालीले बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको सभा हलमा पुगेर मूल कार्यक्रम भएको थियो ।
म्याग्दी जिल्ला भित्रका १५ महिना भित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित खोप पाएको र पाँच वर्ष मुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाए सँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
बालबालिकाले विसीजी, डिपिटि, पोलियो, दादुरा, रुवेला, जेई लगायत १३ प्रकारका खोपको पूर्ण मात्रा पाएको उहाँले बताउनुभयो ।